सहकारीमा २ करोड ६० लाख डुबाएकी बसुन्धरा ‘महाभोज’को ट्रेलर रिलिजमा भक्कानिइन्

सहकारीमा २ करोड ६० लाख डुबाएकी बसुन्धरा ‘महाभोज’को ट्रेलर रिलिजमा भक्कानिइन्

बिनिता कुवर क्षेत्रि
2 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं : सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा डुबेको आफ्नो निक्षेप फिर्ता माग गर्दै अभिनेत्री बसुन्धरा भुसाल र चैत्यदेवी सिंहले माइतीघर मण्डलामा रिले अनसन बसेको एक वर्ष पुग्यो। बसुन्धरा भुसालको २ करोड ६० लाख रुपैयाँ र चैत्यदेवी सिंहको ६० लाख रुपैयाँ उक्त सहकारीमा फस्यो।

फसेको पैसा फिर्ता गराउन बसुन्धरा भुसालले सबै सम्भव उपाय अपनाइसकिन्। उनले बहालवाला मन्त्रीदेखि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसम्मलाई भेटेर पैसा फिर्ताका लागि पहल गरिदिन आग्रह गरिन्। तर, कतैबाट पनि आश्वासनबाहेक केही पाइनन्।

सहकारीका सञ्चालक इच्छाराज तामाङ एमालेका पूर्वसांसद भएकाले अध्यक्ष ओलीले मद्दत गर्नसक्ने आशामा दुई वर्षअघि बसुन्धरासहित २५ जना पीडित ओली निवास बालकोटसमेत पुगे। तर, कुनै सुनुवाइ नभएको भन्दै आइतबार फिल्म ‘महाभोज’को ट्रेलर रिलिजमा भावुक बनिन् उनी।

सहकारी ठगीकै विषयमा आधारित उक्त फिल्ममा अभिनय गर्दा समेत आफू रोएको उनले बताइन्।

‘दुई करोड ६० लाख चानचुने पैसा होइन। यो सिभिल सहकारी, इच्छाराज तामाङको रहेछ। उहाँ एमालेको पूर्व सांसद नै हुनुहुँदो रहेछ। उहाँले यसरी फसाउनुभयो कि के भनौँ,’ भक्कानिँदै उनले भनिन्, ‘त्यतिबेला अहिलेका प्रधानमन्त्रीलाई भेट्दा समेत न्याय पाइनँ।’

उनले अब सरकार वा निकायभन्दा पनि फिल्म हेरेका दर्शकबाटै न्यायको आशा रहेको बताइन्। ट्रेलर रिलिज कार्यक्रममा ७५ वर्षीया भुसालले अनसन बस्नुपर्दाको पीडा समेत सुनाइन्।

उनले थपिन्, ‘मैले यतिसम्म पनि भनिसकेकी, मलाई पैसा नदिऊन्। मलाई चाहिँदैन, सबैको अगाडि बसुन्धरा भुसालको पैसा दिन्नँ भनोस् म खुसी छु। जुन मैले लगेका व्यक्तित्वहरू तीन जना त नाजुक अवस्थामा छन्।’

आफूले जीवनभर कमाएको इज्जत र नामसमेत यो घटनाले गर्दा बदनाम भएको पीर भुसाललाई छ।

‘पैसा राख्न सिफारिस गरेको मान्छे बितिहाल्यो भने कति पाप लाग्छ मलाई,’ भावुक हुँदै उनले भनिन्, ‘६० वर्ष फिल्ममा खेलेको मेरो नाम पनि नष्ट हुन्छ र म पनि नर्क जान्छु जस्तो हुन्छ।’

पीडैपीडा रातमा निद्रा नलाग्ने अवस्था भएको उनले बताइन्। उनले देशका ठूला नेता तथा सरकारी निकायका कार्यालय धाउँदा उल्टै ‘तपाईं जस्तो मान्छेले पनि सहकारीमा पैसा राखेको’ भनेर हप्की खानुपरेको गुनासोसमेत गरिन्।

Share This Article

प्रतिक्रिया दिनुहोस