बंगलादेशमा स्टारलिंकको इन्टरनेट सुरू, कति पर्छ मूल्य?

बंगलादेशमा स्टारलिंकको इन्टरनेट सुरू, कति पर्छ मूल्य?

बिनिता कुवर क्षेत्रि
2 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । एलन मस्कको स्याटलाइट इन्टरनेट सेवा स्टारलिंक औपचारिक रूपमा बंगलादेशमा सञ्चालनमा आएको छ। विशेषगरी दुर्गम र पिछडिएका क्षेत्रहरूमा उच्च गतिको इन्टरनेट पुर्‍याउने उद्देश्यले मंगलबारदेखि यो सेवा सुरु गरिएको हो।

बंगलादेश सरकारका प्रमुख सल्लाहकारका विशेष सहायक फैज अहमद तय्यबले मंगलबार फेसबुकमार्फत र स्टारलिंकले आफ्नो एक्स अकाउन्टमार्फत सेवा सुरु भएको पुष्टि गरेका छन्।

बंगलादेशमा प्रारम्भिक चरणमा ‘स्टारलिंक रेसिडेन्स’ र ‘रेसिडेन्स लाइट’ गरी दुई इन्टरनेट योजना उपलब्ध छन्। ती योजनाको मासिक शुल्क क्रमशः ६,००० टका (करिब ७,२०० रुपैयाँ) र ४,२०० टका (करिब ५,०४० रुपैयाँ) तोकिएको छ। सेवा सुरु गर्न एक पटकको सेटअप उपकरण शुल्कस्वरूप ४७,००० टका (करिब नेपाली रुपैयाँ ५६,४००) तिर्नुपर्नेछ।

स्टारलिंकका अनुसार अबदेखि बंगलादेशका ग्राहकले तुरुन्तै सेवा अर्डर गर्नसक्नेछन्। यसअन्तर्गत कम्पनीले कुनै डेटा लिमिट वा स्पिडको सीमा नराखी उच्चगतिको इन्टरनेट उपलब्ध गराउने वाचा गरेको छ। रिपोर्टअनुसार इन्टरनेटको स्पिड ३०० एमबीपीएससम्म पुग्न सक्छ।

विशेष सहायक ताय्येबका अनुसार यो सेवा महँगो भएपनि गुणस्तरीय र भरपर्दो इन्टरनेट चाहने ग्राहकका लागि वैकल्पिक समाधान बन्नेछ। ९० दिनभित्र सेवा सुरु गर्ने सरकारको लक्ष्य पनि यससँगै पूरा भएको उनले बताए।

यो सेवा व्यक्तिगत प्रयोगकर्तासँगै व्यावसायिक क्षेत्रका लागि पनि उपयोगी हुने विश्वास गरिएको छ। फाइबर इन्टरनेट नपुगेका क्षेत्रहरूमा कम्पनीहरूले आफ्नो सेवा विस्तार गर्न सक्ने तथा एनजीओ, फ्रिलान्सर र उद्यमीहरूलाई समेत यसबाट फाइदा पुग्ने ताय्येबको भनाइ छ।

स्टारलिंकले नन-जिओस्टेसनरी अर्बिटमा रहेका स्याटलाइटहरूको माध्यमबाट सेवा दिने भएकाले भौतिक पूर्वाधार पुग्न नसकेका स्थानमा समेत इन्टरनेट सुविधा पुर्‍याउन सम्भव हुने बताइएको छ। बंगलादेश सरकारले स्टारलिंकलाई अस्थायी अनुमति दिएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस