पछिल्लो समय डिजिटल भुक्तानीमा नयाँ आयाम थप्दै फिनटेक कम्पनी फोनपेले क्रेडिट कार्डको अवधारणा अघि सारेको छ । बैँकको शाखामा नगई, कुनै भौतिक कार्ड बिनै मोबाइल बैँकिङ एपमार्फत सिधै क्रेडिट कार्डको सुविधा लिन सकिने यो प्रविधिले नेपाली वित्तीय क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ । के हो त भर्चुअल क्रेडिट कार्ड ? यसले परम्परागत क्रेडिट कार्डका समस्यालाई कसरी समाधान गर्छ ? यिनै विषयमा केन्द्रित रहेर फोनपेका सीईओ दिवशकुमार सापकोटासँग टेकपानाले गरेको कुराकानीको सम्पादित अंशः
१. फोनपेले ल्याएको भर्चुअल क्रेडिट कार्ड के हो ? यो फिजिकल (भौतिक) क्रेडिट कार्डभन्दा कसरी फरक छ ?
भर्चुअल क्रेडिट कार्ड सारमा भौतिक क्रेडिट कार्ड जस्तै हो । तर यसको कुनै भौतिक स्वरूप हुँदैन । यो तपाईँको मोबाइल बैङ्किङ एपभित्रै रहने एक डिजिटल कार्ड हो । जसरी तपाईँ आफ्नो बैँक खाताबाट क्यूआरमार्फत भुक्तानी गर्नुहुन्छ, त्यसरी नै क्रेडिट लिमिट (बैँकले तोकिदिएको सीमा) बाट भुक्तानी गर्न सक्नुहुन्छ ।
भौतिक स्वरूपको क्रेडिट कार्डबाट भुक्तानी गर्न ट्याप गर्ने वा पीओएस मसिनमा प्रयोग गर्नुपर्ने हुन्थ्यो भने भर्चुअल कार्ड सिधै मोबाइल बैङ्किङ एपबाटै क्यूआर स्क्यान गरेर प्रयोग गर्न सकिन्छ । नेपालमा यो अवधारणा पहिलो पटक आएको हुनाले धेरै प्रयोगकर्ताका लागि यो नयाँ विषय बनेको छ । यसको मुख्य विशेषता भनेको भौतिक कार्डको झन्झट विना क्रेडिट सुविधाको प्रयोग गर्नु हो ।
२. नेपालमा अहिले फिजिकल क्रेडिट कार्डको अवस्था कस्तो छ र भर्चुअल कार्ड किन आवश्यक पर्यो ?
नेपालमा क्रेडिट कार्डको पहुँच अत्यन्तै सीमित छ । राष्ट्र बैँकको तथ्याङ्कअनुसार हाल करिब साढे तीन लाख मात्र क्रेडिट कार्ड जारी भएका छन् । जुन कूल जनसङ्ख्याको एक प्रतिशतभन्दा पनि कम हो । जबकि विकसित देशहरू क्रेडिट कार्डको पेनिट्रेसन क्यानडामा ८२ प्रतिशत, अमेरिकामा ६६ प्रतिशत र भारतमा ६ प्रतिशत छ । यसका पछाडि केही प्रमुख कारण र सीमितताहरू छन्, जसलाई भर्चुअल कार्डले सम्बोधन गर्ने लक्ष्य राखेको छ ।
जसमध्ये एउटा हो, सीमित स्वीकार्यता । भौतिक क्रेडिट कार्ड ठुला डिपार्टमेन्ट स्टोर, तारे होटेल वा रेस्टुरेन्टहरूमा मात्र चल्छ । देशभर सक्रिय पीओएस मसिनको सङ्ख्या करिब २० हजार मात्रै हुँदा सामान्य र साना पसलहरूमा यसको पहुँच छैन ।
अर्को कुरा भौतिक क्रेडिट कार्डमा पारदर्शिता र नियन्त्रणको पनि अभाव छ । अधिकांश बैँकका प्रयोगकर्ताले आफ्नो खर्चको विवरण हेर्न महिनाको अन्त्यमा आउने स्टेटमेन्ट कुर्नुपर्छ । आफ्नो खर्चलाई नियन्त्रण गर्न (जस्तै: रेस्टुरेन्टमा यतिभन्दा बढी खर्च नगर्ने) कुनै प्रबन्ध नै छैन ।
यस बाहेक पहुँचको समस्या र झन्झटिलो प्रक्रियाले पनि समस्या खडा गरेको छ । क्रेडिट कार्ड लिन बैँक धाउनुपर्ने, विभिन्न कागजात बुझाउनुपर्ने जस्ता प्रक्रियागत झन्झट छन् ।
त्यस्तै नेपालमा क्रेडिट कार्डको उपयोगलाई लिएर आम मानिसको बुझाई पनि स्पष्ट छैन । खासगरी नेपाली समाजमा बचत गर्ने मानसिकता बढी छ र क्रेडिट (ऋण) लाई नकारात्मक रूपमा हेरिन्छ । जसले गर्दा क्रेडिट कार्डलाई आवश्यकताभन्दा पनि ‘स्टाटस सिम्बोल’ वा निश्चित वर्गका लागि उपयोगी साधनको रूपमा मात्रै हेर्ने प्रवृत्ति छ ।
३. फोनपेको भर्चुअल क्रेडिट कार्डले यी समस्याहरूलाई कसरी समाधान गर्छ त ?
भर्चुअल क्रेडिट कार्डले भौतिक कार्डका सीमितताहरूलाई प्रविधिको माध्यमबाट समाधान गर्ने प्रयास गरेको छ । पहिलो कुरा यसको स्वीकार्यता फराकिलो हुन सक्छ । किन कि यो कार्ड फोनपे नेटवर्कमा आबद्ध १८ लाखभन्दा बढी क्यूआर मर्चेन्टमा चल्छ । यसको अर्थ तपाईँले आफ्नो घर नजिकैको किराना पसलदेखि ठुला शपिङ मलसम्म यो क्रेडिट कार्ड प्रयोग गर्न सक्नुहुन्छ । व्यापारीले यसका लागि छुट्टै पीओएस मसिन राख्नु पर्दैन । यस्ता मसिनका लागि सामान्यतया ५०/६० हजार रुपैयाँ डिपोजिट राख्नु पर्ने हुन्छ ।
भर्चुअल क्रेडिट कार्डको अवधारणाले बैँकहरूको लागत खर्च पनि घटाउन सक्छ । यो फोनपेको आफ्नै घरेलु स्किममा आधारित भएकाले बैँकहरूले भिसा, मास्टरकार्ड जस्ता अन्तर्राष्ट्रिय कम्पनीलाई महँगो वार्षिक शुल्क (डेढ देखि तीन करोड रुपैयाँसम्म) तिर्नु पर्दैन । यसले बैँकहरूको पूर्वाधार र सञ्चालन लागत घट्छ । यसकारण बैँक तथा वित्तीय संस्थाहरूले १०/२० हजार रुपैयाँसम्मको थोरै क्रेडिट लिमिट भएका कार्ड पनि जारी गर्न सक्छन् ।
अर्को कुरा यस किसिमको कार्डमा ग्राहकको नियन्त्रण बढी हुनुका साथै पारदर्शितालाई पनि बढावा दिइएको हुन्छ । जसले गर्दा प्रयोगकर्ताले आफ्नो मोबाइल बैङ्किङ एपबाटै खर्चको रियल-टाइम विवरण हेर्न सक्छन् । आफ्नो तलब आउने दिनअनुसार बिल भुक्तानीको मिति तय गर्ने, किस्ताबन्दी (EMI) को सुविधा लिने र आफूले चाहेअनुसारको बिल रकम तिर्ने जस्ता सहज किसिमका सुविधाहरू यसले गर्दा सम्भव हुन्छ ।
त्यसैगरी प्रक्रियागत रूपमा पनि यो सहज र छिटो छ । बैँकले आफ्ना ग्राहकको कारोबार विश्लेषण गरी ‘प्री-एप्रुभ्ड’ (पूर्व-स्वीकृत) प्रस्ताव पठाउन सक्छन् । यस्तो प्रस्ताव आएका ग्राहकले मोबाइल बैङ्किङ एपबाट एक क्लिकमै तुरुन्तै क्रेडिट कार्ड प्राप्त गर्न सक्छन् ।
४. यो कार्ड लिनका लागि प्रक्रिया के छ, बैंक धाउनै पर्छ कि ?
यो कार्ड लिनका लागि मुख्यतया तीन वटा प्रक्रिया छन् । यदि तपाईँ बैँकको मापदण्डमा योग्य हुनुहुन्छ भने तपाईँको मोबाइल बैङ्किङ एपमा नै क्रेडिट कार्डको लागि अफर देखिन्छ । यस्तो अवस्थामा ‘Apply’ मा ट्याप गरेकै भरमा मिनेटभरमै तपाईँको भर्चुअल क्रेडिट कार्ड एक्टिभेट हुन्छ । यसका लागि बैँक जानु पर्दैन। दोस्रोमा एपबाटै आवेदन दिने विकल्प छ । यदि तपाईँलाई प्रि-एप्रुभ्ड अफर आएको छैन भने एपबाटै ‘I am Interested’ मा क्लिक गरेर आवेदन दिन सकिन्छ । त्यसपछि बैँकले तपाईँलाई सम्पर्क गरेर आवश्यक प्रक्रिया अगाडि बढाउँछन् । तेस्रो भनेको बैँकको शाखामा गएर आवेदन दिने हो । प्रि एप्रुभ्ड वा मोबाइल बैङ्किङबाटै आवेदन दिने प्रक्रिया सम्भव नभएमा हालको भौतिक कार्ड लिने प्रक्रियाजस्तै बैँकको नजिकैको शाखामा गएर पनि आवेदन दिन सकिन्छ ।
५. यो कार्ड प्रयोग गरेबापत के-कस्ता शुल्क तिर्नुपर्छ ?
ग्राहकले सुरुमा कार्डका लागि निश्चित शुल्क तिर्नुपर्ने हुन्छ । त्यस बाहेक वार्षिक शुल्क (नवीकरण) लाग्छ र सम्बन्धित बैँकले निर्धारण गर्ने ब्याजदर दिनुपर्ने हुन्छ । सामान्यतया कार्ड शुल्क बैँकअनुसार ५०० देखि १,५०० रुपैयाँसम्म हुन सक्छ । समयमा बिल भुक्तानी गरेमा ४५ दिनसम्म ब्याज लाग्दैन, यो भौतिक क्रेडिट कार्डमा समेत उपलब्ध रहेको सुविधा हो । मर्चेन्टहरूले भने क्रेडिट कार्डमार्फत हुने भुक्तानीहरूमा न्यूनतम शुल्क तिर्नुपर्ने हुन्छ । तर साना व्यापारीलाई प्रोत्साहन गर्न २,००० रुपैयाँभन्दा कमको कारोबारमा कुनै शुल्क लाग्दैन । सोभन्दा माथिको कारोबारमा लगभग ०.६ प्रतिशत शुल्क लाग्छ । तर कुनै पनि कारोबारमा अधिकतम शुल्क ३०० रुपैयाँभन्दा बढी हुँदैन । यो शुल्क व्यापारीले तिर्ने हो, ग्राहकले होइन ।
६. डेबिट कार्ड वा मोबाइल बैङ्किङ सुविधा भएका सामान्य मानिसलाई क्रेडिट कार्ड किन चाहिन्छ ?
डेबिट कार्डले तपाईँको खातामा भएको पैसा मात्र खर्च गर्ने सुविधा दिन्छ । तर क्रेडिट कार्डले तपाईँलाई तत्काल पैसा नभए पनि आवश्यक वस्तु वा सेवा खरिद गर्ने सुविधा दिन्छ । यसका विभिन्न फाइदा छन् । पहिलो कुरा त यसबाट तपाईँको तत्कालको आवश्यकता पूर्ति हुन सक्छ । आज किन्नुपर्ने सामान पैसा जम्मा गर्दासम्म भविष्यमा त्यसको मूल्य बढ्न सक्छ (मुद्रास्फीति) । यस्तोमा क्रेडिट कार्डले आजकै मूल्यमा सामान किन्ने अवसर दिन्छ ।
अर्को भनेको यस किसिमको सुविधाले आर्थिक गतिविधि पनि बढाउँछ । जब मानिसहरूले खर्च गर्छन्, यसले बजारलाई चलायमान बनाउँछ र समग्र अर्थतन्त्रलाई नै फाइदा पुर्याउँछ । यस बाहेक क्रेडिट कार्डले वित्तीय अनुशासन पनि कायम गर्छ । बचत भन्ने कुरा आकस्मिक जोखिमका लागि हुनुपर्छ । तर सामान किन्नका लागि बचत गर्नुभन्दा क्रेडिटको सही प्रयोग गर्नु बुद्धिमानी हुन सक्छ । फोनपेको मुख्य उद्देश्य क्रेडिट कार्ड बेच्नुभन्दा पनि मानिसहरूलाई क्रेडिट कार्डको महत्त्व बुझाउनु हो, जसले गर्दा वित्तीय साक्षरता बढ्नुका साथै मानिसहरूले यसको सही फाइदा लिन सकुन् ।
७. अहिले कुन-कुन बैंकबाट यो सेवा लिन सकिन्छ र यसको विस्तारको योजना के छ ?
यो सेवा सुरु भएको करिब डेढ वर्ष भएको छ । हालसम्म लक्ष्मी-सनराइज, सिटिजन्स, महालक्ष्मी, एभरेस्ट, कुमारी, शाइन रेसुङ्गा र गरिमा जस्ता बैँकहरूले यो सेवा दिइरहेका छन् भने सिद्धार्थ बैंक पनि चाँडै जोडिने प्रक्रियामा छ । अन्य बैँक तथा वित्तीय संस्थाहरूलाई पनि क्रमशः थप गर्दै लैजाने योजनामा छौँ । हाल भर्चुअल क्रेडिट कार्ड सुविधा लिने प्रयोगकर्ता करिब १२ हजार छन् । आगामी दुई वर्षभित्र भौतिक क्रेडिट कार्डको सङ्ख्या बराबर अर्थात् साढे तीन लाख प्रयोगकर्ता पुर्याउने लक्ष्य रहेको छ । भविष्यमा वालेटहरू (जस्तै: ई-सेवा वा खल्ती) सँग सहकार्य गरेर बैँकमा खाता नभएका प्रयोगकर्तालाई पनि क्रेडिट कार्ड सुविधा दिने योजना छ । साथै फोनपेले आफ्नो नेटवर्कमा हुने कारोबारको डेटा प्रयोग गरेर बैँकहरूलाई ग्राहकको पहिचान र ऋण क्षमता मूल्याङ्कन गर्न सघाउने ‘अल्टरनेटिभ क्रेडिट स्कोरिङ’ मा पनि काम गरिरहेको छ ।










