नेपाली सांगीतिक क्षेत्रमा नयाँ प्रतिभा खोज्ने उद्देश्यसहित “गाउँछ गीत” नामक मौलिक गायन रियालिटी शो सार्वजनिक गरिएको छ। कार्यक्रमका निर्देशक हरि शर्मा रहनुभएको छ भने यसलाई Saainaa Creation प्रा.लि. ले निर्माण गरेको हो। शोकी निर्माता रोजी शिङ हुनुहुन्छ। कार्यक्रममा संगीत क्षेत्रका चर्चित व्यक्तित्वहरू थानेश्वर गौतम, संगीता राना प्रधान र सहिमा श्रेष्ठ निर्णायकको भूमिकामा देखिनेछन्। यसैगरी, शोको प्रसारण साझेदारको रूपमा Prime TV रहेको छ। नेपालकै मौलिक ढाँचामा निर्माण गरिएको यस कार्यक्रमलाई देशकै फरक शैलीको गायन रियालिटी शोको रूपमा प्रस्तुत गरिने आयोजकले जनाएको छ।
कार्यक्रम सञ्चालन सीता न्यौपाने र कौश खड्का ले गर्नेछन्। यसैबीच, शोका लागि डिजिटल अडिसन यही महिनाको १८ गतेदेखि सुरु हुने जनाइएको छ। १६ वर्षभन्दा माथिका इच्छुक प्रतिभाहरूले आफ्नो गीत गाएको भिडियो “गाउँछ गीत” को फेसबुक पेजमार्फत अपलोड गर्न वा ह्वाट्सएपमार्फत पठाएर सहभागी हुन सक्नेछन्।










