काठमाडौं – वरिष्ठ अभिनेता तथा क्याप्टेन विजय लामाले हाल प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘बलिदान’हेरेपछि आफू प्रभावित भएको प्रतिक्रिया दिएका छन्। लामाले चलचित्रले नेपाली फिल्म उद्योगको स्तरलाई नयाँ उचाइमा पुर्याएको उल्लेख गर्दै यसलाई “फरक स्तरको चलचित्र” भनेर प्रशंसा गरेका छन्।
सोमबार साँझ चलचित्र हेरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लामाले भने, “बलिदानमा मैले ठुलो बलिदानै पाएँ। यो चलचित्रसँग आबद्ध सबैको ठुलो योगदान देखेँ। यो फरक स्तरको चलचित्र हो। नेपाली चलचित्रको स्तर बढ्दै गएको छ भन्ने प्रमाण बलिदान हो।”
लामाले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन आफू सधैँ प्रयासरत रहेको बताउँदै ‘बलिदान’ हेर्दा त्यसको सम्भावना अझ स्पष्ट रूपमा महसुस गरेको बताए। उनका अनुसार, “हामीले अभिनय गर्दा देखेको सपना अहिलेका सन्तोष सेनहरूले साकार पार्दैछन्।”
निर्देशक सन्तोष सेनको कामको प्रशंसा गर्दै लामाले भने, “मेरो समयमा सन्तोष सेन आइदिएका भए म पनि समीर भट्टजस्तै एक्सन अभिनय गरिरहेको हुन्थेँ होला।”










