काठमाडौं । सामाजिक कथावस्तुमा निर्माण भइरहेको फिल्म ‘सिन्दूर’को छायांकन दाङमा तीव्र गतिमा भइरहेको छ। फिल्मको कलाकार टोलीमा अब अभिनेता विपिन कार्की र अभिनेत्री निरुता सिंह पनि जोडिएका छन्।
लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा निर्माण भइरहेको फिल्ममा सुरुवातमा पुष्प खड्का र प्रशंसा रायमाझीको नाम सार्वजनिक गरिएको थियो। निर्माण टिमले पछिल्लो समय चर्चित दुई कलाकारलाई फिल्ममा भित्र्याएको हो।
निर्देशक सुनारका अनुसार निरुता सिंहले केही दिनमै फिल्मको छायांकन सुरु गर्नेछिन् भने विपिन कार्कीले दशैंपछि सेट ज्वाइन गर्नेछन्। दुवै कलाकारको भूमिका भने निर्माण टिमले गोप्य राखेको छ।

कस्तुरी प्रोडक्सन प्रालिको प्रस्तुति तथा क्लासिक सिने युनिभर्स प्रालिको सहकार्यमा निर्माण भइरहेको फिल्ममा सञ्जिव सार्कीको लगानी र दिनेश सिंह महराको कार्यकारी निर्माण रहेको छ।
संकल्प भुजेलले छायांकन गरिरहेको फिल्ममा प्रशान्त सिवाकोटी, श्रीकृष्ण बम मल्ल र दिनेश ढकालको संगीत रहनेछ। प्रकाश हमाल निर्माण प्रमुख तथा करणबहादुर साउद मुख्य सहायक निर्देशक छन्। फिल्ममा रामजी लामिछानेको नृत्य निर्देशन र एनवी महर्जनको एक्सन रहनेछ।

मदन सुरखेतीको सह–लेखन रहेको फिल्ममा रोहित वली र विकेश लामा प्रोडक्सन म्यानेजरका रूपमा छन्।
एक महिनाको सेड्युलमा छायांकन भइरहेको फिल्मले एक महिलाका लागि सिन्दूरको महत्व र त्यससँग जोडिएको सामाजिक भावनालाई कथाको केन्द्रमा राखेको निर्देशक सुनारले बताएका छन्।
फिल्मको प्रदर्शन मिति भने तय भइसकेको छैन।









