सूचना र प्रविधिको विकाससँगै अधिकांश क्षेत्र अहिले डिजिटल प्रविधिमय भएका छन् । नेपाली चलचित्र क्षेत्र पनि यसबाट अछुतो रहने कुरा भएन । चलचित्र निर्माणदेखि प्रदर्शनसम्मको हरेक गतिविधि ‘डिजिटल प्रविधि’ मा रूपान्तरण हुनुपर्ने बाध्यता सिर्जना भएको छ ।
यद्यपि यो समयसम्म आउन नेपाली चलचित्रले ‘सेलुलाइड’ युगलाई पार गर्नुपरेको थियो । उक्त समयमा चलचित्रको चारदेखि पाँच प्रिन्ट तयार गरेपछि प्रदर्शन गरिन्थ्यो । एउटा चलचित्र भवनबाट अर्को चलचित्र भवनमा चलचित्र प्रदर्शन गर्न समय हेरफेर गर्नुपर्ने अवस्था थियो । प्रिन्टको संख्या बढाउँदा निर्माण लागत पनि बढ्ने भएकाले सीमित प्रिन्टबाट समय हेरफेर गरेर चलचित्र प्रदर्शन गरिन्थ्यो ।
सीमित प्रिन्ट मोफसलमा प्रदर्शन भएर काठमाडौं आउँदा कोरिने, प्वाल पर्ने लगायतका समस्याका कारण कतिपय चलचित्र भवनमा धमिलो देखिन्थ्यो । सोह्र मिलिमिटरमा खिचेर ३५ मिलिमिटरमा प्रदर्शन गर्दा गुणस्तरमा कमी आउँथ्यो । फलतः सहरिया दर्शकको रोजाइमा नेपाली चलचित्र कम पर्न थाल्यो । किनकी सोही मूल्यमा हेर्न पाइने विदेशी चलचित्र भने गुणस्तरीय थियो ।
ध्वनि, छायांकन, प्रदर्शनमा देखिएको यवात् समस्यालाई महसुस गरिरहेका निर्माता तथा निर्देशक अशोक शर्माले नेपाली चलचित्रलाई ‘डिजिटल युग’तर्फ मोडेका हुन । चलचित्र निर्माणको सुरुआत ३५ मिलिमिटरबाट गरिएको भएता पनि लगानी कम गर्न १६ मिलिमिटर हुँदै ‘भिडिओ’ चलचित्र बन्न थालेपछि सहरिया दर्शक घटेका थिए ।










