काठमाडौं: अभिनेत्री बेनिशा हमाल पछिल्लो समय लाइमलाइटबाट केही ओझेल परेकी छिन्। उनको अभिनय रहेका पछिल्ला फिल्महरूले बक्स अफिसमा अपेक्षित सफलता पाउन नसक्दा चर्चा र चासो कम भएको छ।
गत वर्षको फिल्म ‘उपहार’ले उनलाई खासै फाइदा पुर्याउन सकेन। एकपटक हिन्दी फिल्ममा काम गर्न भारत गएको हल्ला पनि बजारमा आएको थियो, तर त्यसपछि उनको गतिविधि खासै सुनिएन।
तर, बेनिशा फुर्सदमा भने छैनन्। उनले ‘सिटामोल’ र ‘मोहर’ फिल्ममा अभिनय गरिसकेकी छिन् र अब ‘बिगुल’ फिल्ममा अनुबन्धित भएकी छिन्। ‘बिगुल’मा उनको साथमा अभिनेता नरेन खड्काको मुख्य भूमिका रहनेछ।
बुधवार अक्षय तृतीयाको अवसरमा कोटेश्वर महादेवस्थानमा फिल्मको शुभ मुहूर्त सम्पन्न भएको छ। रमेश कोइरालाको निर्देशनमा बन्न लागेको यो फिल्मको छायांकन वैशाख तेस्रो साताबाट सुरु हुने निर्माण पक्षले जनाएको छ।
फिल्ममा दिनेश कोइरालाको कथा, मौनता श्रेष्ठको पटकथा र संवाद छ। बेनिशा र नरेनसँगै नीर शाह, रमेश बुढाथोकी, गीता अधिकारी, हेमन्त बुढाथोकी, जेएन घिमिरे, सुमोद भारद्वाजलगायतका कलाकारहरूको अभिनय रहनेछ।










