सेन्सर बोर्डकी कर्मचारीले ‘म व्रत बसेकी छु, काजु किनेर ल्याइदिनुस्’ भनेपछि…

सेन्सर बोर्डकी कर्मचारीले ‘म व्रत बसेकी छु, काजु किनेर ल्याइदिनुस्’ भनेपछि…

बिनिता कुवर क्षेत्रि
1 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं : नेपालमा फिल्म बनाउनुभन्दा त्यो फिल्म सेन्सर बोर्ड पार गर्न झन् कठिन हुने अवस्था अहिले पनि फेरिएको छैन। स्क्रिप्टभन्दा बाहिरको स्क्रिप्ट- कहिले चिकेन रोस्ट, कहिले काजु!

अहिले चर्चाको घेरामा परेका छन् अभिनेता हरिवंश आचार्य। युट्युब अन्तर्वार्तामा उनले फिल्मको सेन्सर प्रक्रियामा भोगेका ‘खाजामय’ अनुभव पोखेका छन्। कुनै बेला एक महिला कर्मचारीले उनलाई “म व्रत बसेकी छु, काजु किनेर ल्याइदिनुस्” भनेको प्रसंग उनले खुलेर सुनाए।

“म कलाकार हुँ, तपाईंको काजु किन्ने मान्छे होइन,” भन्दै आफूले पैसा तिर्छु, तपाईं आफैं किन्नुस् भनेको स्मरण गर्दै हरिवंशले भने, “कस्तो चित्त दुख्ने अवस्था!”

सेन्सर बोर्डले फिल्मको गुणस्तर हेर्ने कि खाजाको मेनु, निर्माताहरू अक्सर अन्योलमा पर्छन्। हरिवंश भन्छन्, “रेस्टुरेन्टमै गएर बियर खाएर सेन्सर गर्नु ठीक होला, तर कार्यालयमै खाजा ल्याइदे भन्नु त हद भयो नि।”

कहिले चिकेन, कहिले काजु- फिल्मका सर्टिफिकेटभन्दा पहिले सेन्सर अफिसमा ‘स्न्याक्स सर्टिफिकेट’ चाहिने देखिन्छ। हरिवंशले ‘हरिबहादुरको जुत्ता’ सेन्सर प्रक्रियामा फेरि त्यस्तै हैरानी भोग्नुपर्ने हो कि भनेर चिन्ता व्यक्त गरे।

निर्माताहरूले पटक–पटक गुनासो गर्दा पनि सेन्सर बोर्डको पुरानै शैली दोहोरिरहेको छ। भत्ताको व्यवस्था त छँदैछ, तर फिल्म हेर्ने बहानामा खाजा माग्ने पुरानै संस्कृति भने अझै जीवित देखिन्छ।

अब प्रश्न उठ्छ- सिनेमा सेन्सर बोर्ड हो कि ‘सेन्सर क्यान्टिन’?

Share This Article

प्रतिक्रिया दिनुहोस