‘मेरी बास्सै’ देखिको दोस्ती टुट्यो, राजुले ‘जुठे’ छाडेपछि बल्छी एक्लै

‘मेरी बास्सै’ देखिको दोस्ती टुट्यो, राजुले ‘जुठे’ छाडेपछि बल्छी एक्लै

बिनिता कुवर क्षेत्रि
2 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं : हास्य कलाकार राजु पौडेल (गोथे) र मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)को दुई दशक लामो सहकार्य टुटेको छ।

‘जुठे’को छायांकनमा राजु नदेखिएपछि उनीहरू अलग भएको शंका उब्जियो। त्यही शंका मेट्न हामीले राजुलाई सम्पर्क गर्दा पुष्टि भयो- सम्बन्धमा टुटेकै रहेछ। राजुले आफ्नै नयाँ श्रृंखला ‘सकस’मा ध्यान दिनुपर्ने कारण देखाउँदै ‘जुठे’ छाडेको बताए।

अचेल कुनै पनि कलाकारबीच मनमुटाव हुनु सामान्य जस्तै भएको छ। प्रायः यस्तो टुटफुटको कारण आर्थिक विषय नै हुने गर्छ। यद्यपि धेरै कलाकारले भने समय अभाव र नयाँ कामका कारण छुट्टिएको दाबी गर्छन्।

एक दशकअघि ‘मेरी बास्सै’बाट केदार घिमिरे (माग्ने बुढा) र सीताराम कट्टेल (धुर्मुस) बाहिरिएका थिए, जसको कारण आर्थिक विवाद नै भनिएको थियो। त्यसपछि ‘मेरी बास्सै’को नेतृत्व राजु र मरिचमानले सम्हाले।

लेखन, निर्देशन र अभिनयसम्म सँगै काम गरेका यी दुई बीचको सहकार्य निकै सुमधुर थियो- टेलिश्रृंखला होस् वा स्टेज कार्यक्रम।

तर, हिमालय टेलिभिजनबाट प्रसारण हुने ‘हल्का रमाइलो’ कार्यक्रमबाटै दुई वर्षअघि उनीहरूको सहकार्य टुङ्गिएको हो। त्यसपछि पनि राजु ‘जुठे’ श्रृंखलामा भने सक्रिय थिए।

बल्छीले ‘हल्का रमाइलो’ आफ्नै युट्युब च्यानलमार्फत प्रसारण गरिरहे भने ‘जुठे’ राजु नेतृत्वमा चलिरहेको थियो।

यद्यपि केही युट्युब अन्तर्वार्तामा दुवै जनाले आफूहरूबीच कुनै तिक्तता नरहेको बताएका थिए, तर पछिल्लो अवस्थाले त्यो कुरा पुष्टि गर्दैन।

तीन दिनअघि राजुले सामाजिक सञ्जालमा ‘जुठे’ चाँडै नयाँ कथासहित फर्किने लेखेका थिए। उनले दर्शकका गुनासोलाई ध्यानमा राखेर नयाँ ढङ्गले ल्याउने तयारी भइरहेको बताएका थिए।

तर, सोमबार लमजुङमा गरिएको ‘जुठे’को नयाँ छायांकनमा राजु सहभागी भएनन्। उनी नै प्रमुख पात्र ‘गोथे’को भूमिकामा थिए। यसबाट स्पष्ट हुन्छ- दुई दशक लामो सहकार्य अन्त्य भएको छ।

राजुले यसै हप्ताबाट ‘जुठे’ छाडेको पुष्टि गरे। ‘मैले आफ्नै सिरियलमा ध्यान दिन भनेर जुठे छाडेको हुँ,’ उनले भने, ‘अरू कुनै कारण छैन।’

राजुले ‘हल्का रमाइलो’ र ‘जुठे’ छाडेपछि आफ्नै युट्युब च्यानलमार्फत ‘लफडा’ र ‘सकस’ जस्ता श्रृंखला निर्माण गर्दै आएका छन्। यता बल्छी धुर्बेले भने फोन उठाएनन्। उनी ‘जुठे’कै सुटिङका लागि लमजुङमा छन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय