काठमाडौं : प्रिमियम गुणस्तरको ‘हाङकुक’ ब्रान्डको चाउचाउको नेपालमा सफल परीक्षण उत्पादन सम्पन्न भएको छ।
कोरियन प्रविधिमा आधारित यो चाउचाउ तीन वर्षको प्रयासपछि भैरहवास्थित हिमालयन म्यानुफ्याक्चरिङ कम्पनीले उत्पादन गरेको हो।
कम्पनीका अध्यक्ष विनोद कुँवरका अनुसार, आगामी साताबाट नेपाल, भारतलगायत अन्तर्राष्ट्रिय बजारमा यो चाउचाउ उपलब्ध हुनेछ। खाद्य विभागको स्वीकृति र कानुनी प्रक्रिया पूरा भइसकेको छ।
यो चाउचाउ १३० ग्रामको प्याकमा प्रति प्याक १३० रुपैयाँमा बिक्री हुनेछ, जुन आयातित प्रिमियम चाउचाउभन्दा सस्तो र गुणस्तरीय छ।
उद्योगमा ८० करोडभन्दा बढी लगानी गरिएको छ, जसले १०० जनालाई प्रत्यक्ष र हजारौँलाई अप्रत्यक्ष रोजगारी प्रदान गरेको छ। कोरियाबाट दक्ष जनशक्ति ल्याएर उत्पादन गरिएको यो चाउचाउ नेपाली बजारमा नयाँ विकल्प बन्ने कम्पनीको विश्वास छ।
अध्यक्ष कुँवरले गुणस्तरमा सम्झौता नगरी उत्कृष्ट उत्पादन ल्याउने प्रतिबद्धता व्यक्त गरे। कम्पनीले उपभोक्ताको सुझावलाई महत्व दिँदै उत्पादन सुदृढ बनाउने योजना बनाएको छ।
निकट भविष्यमा भारतसहित अन्य देशमा निर्यात गर्ने लक्ष्य राखिएको छ। कोरियामा बस्ने गैरआवासीय नेपाली व्यवसायी कुँवरले नेपालमा सोजुसहित विभिन्न क्षेत्रमा लगानी गर्दै आएका छन्।









