दाङ : एमालेका महासचिव शंकर पोखरेलले राजावादीले जेठ १५ गतेदेखि गर्न लागेको आन्दोलनलाई ‘जनताका विरूद्ध’ को संज्ञा दिएका छन्। ४१ औं नेत्रलाल पौडेल अभागी स्मृति दिवसको अवसरमा दाङमा बोल्दै उनले युवा विदेश पलायनबारे पनि धारणा राखे।
राजावादीले ‘गणतन्त्रले के दियो’ भन्दै भ्रम छरिरहेको भन्दै उनले भने, ‘त्यो आन्दोलन कुनै राजनीतिक दल वा व्यवस्थाका विरूद्ध होइन, नेपाली जनताका विरूद्ध हो।’
उनले राजसंस्था कहिल्यै जनताको पक्षमा नरहेको दाबी गर्दै गलत कुराको पछि नलाग्न आग्रह गरे। निरंकुशताको जाँतोमुनि पारेर शोषण गरेको राजसंस्थाले अहिले गणतन्त्र र जनताको सार्वभौम सत्तामाथि प्रहार गरिरहेको पोखरेलको भनाइ थियो।
सोही कार्यक्रममा महासचिव पोखरेलले युवा विदेश गएर देश नबन्ने बताए। विदेशमा पसिना बगाएर आफ्नो देश निर्माण नहुने भन्दै उनले देश बनाउन आफ्नै भूमिमा मेहनत गर्नुपर्नेमा जोड दिए।
पोखरेलले कतिपय बाध्यताले विदेश गए पनि धेरैजसो रहरले जाने गरेको टिप्पणी गरे। युवा पलायन रोक्न एमालेले नेतृत्व लिने उनको दाबी थियो।










