काठमाडौं । गायक, अभिनेता तथा निर्देशक प्रकाश सपुतका थुप्रै गीतहरू रिलिज हुनासाथ चर्चामा आउँथे। एकताका २४ घण्टामै १० लाख बढी भ्युज पाएका गीत प्रकाशकै नाममा छन्।
‘सकम्बरी’ गीतकै कुरा गर्दा यसले रिलिजको २४ घण्टामा १० लाख बढी भ्युज पाएको थियो भने रिलिजको एक सातामा युट्युबमा एक करोडभन्दा बढीपटक हेरिएको थियो। यसको यो रेकर्ड आजसम्म कसैले तोड्न सकेको छैन।
‘पीर’ ले पनि आठ दिनमै एक करोड भ्युज कटाएर रेकर्ड बनाएको थियो। अनि, ‘दमाई महाराज’ लाई पनि दश दिनमा ६६ लाखभन्दा बढी पटक हेरिएको थियो।
तर, प्रकाशको पछिल्लो गीतले भने अपेक्षित दर्शक पाउन सकेको छैन। सामाजिक कथालाई मार्मिक रूपमा प्रस्तुत गर्ने खुबीका कारण चिनिएका सपुतको नयाँ गीत ‘नाइँ भनेसी नाइँ’ ९बदला बरिलै(२० ले पुराना सिर्जनाको जस्तो उत्साहजनक सुरुवात गर्न सकेको छैन।
यो गीतको भिडिओलाई मंगलबार साँझसम्म युट्युबमा ५ लाख ७० हजारभन्दा बढी पटक हेरिएको छ। बजारमा आइरहेका गीतको तुलनामा यसको भ्युज राम्रो भए पनि प्रकाश सपुतको सन्दर्भमा भने यो अपेक्षित होइन।
प्रकाशले झन्डै एक वर्षयता म्युजिक भिडिओ ल्याएको कारण पनि यो गीतलाई थप प्रतीक्षित मानिएको थियो। ‘नाइँ भनेसी नाइँ’मा अभिनेत्री रेखा थापाले अभिनय गरेका कारण पनि रिलिजअघि यसको थप चर्चा थियो। तर, रिलिजपछि त्यसो हुन सकेन।
यद्यपि, गीतलाई लिएर आएका प्रतिक्रिया भने सकारात्मक छन्। अधिकांशले गीत सन्देशमूलक रहेको भन्दै खुलेर प्रशंसा गरेका छन्। गीतमा महिलाको शरीर मात्र आफ्नो हैन, अधिकार समेत आफ्नो हो भन्ने कुरालाई मिहीन ढंगले प्रस्तुत गरिएको छ।
गीतसंगीतमा सफलतापछि फिल्म क्षेत्रमा प्रवेश गरेका सपुतले ‘परदेशी २’ बाट डेब्यु गरे पनि उनले लेखन तथा निर्देशन गरेको फिल्म ‘वसन्त’ व्यावसायिक रूपमा असफल भयो। त्यसपछि उनी सुस्ताएका देखिन्थे। झन् यो गीत पनि नचल्दा उनीमा अझ प्रभाव परेको बुझिन्छ।
‘बदला बरिलै २’ले बलात्कारविरुद्ध महिला सशक्तीकरणको आवाज बोल्छ। गीतमा पछिल्लो पुस्ताका दुई चर्चित गायिकाहरू समीक्षा अधिकारी र एलिना चौहानले स्वर दिएका छन् भने उनीहरू समेत भिडिओमा देखिन्छन्।
मूलतस् अभिनेत्री रेखा थापाको मुख्य भूमिका रहेको भिडिओमा प्रकाशसहित सिम्रन खड्का, संजोग बराइलीलगायतको अभिनय छ। म्युजिक भिडिओमा विरलै अभिनय गर्ने रेखाको यो करिअरकै दोस्रो म्युजिक भिडिओ हो।
भिडिओको निर्देशन उनै प्रकाशको हो। यसमा शब्द तथा संगीत प्रकाशको छ भने संगीत संयोजनको काम श्यामश्वेत रसाइलीले गरेका हुन्।










