काँक्रेविहार,सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको समुचित विकासका लागि योजना छनोटदेखि बजेट विनियोजनसम्मको प्रक्रियामा थप सुधार आवश्यक भएको बताउनुभएको छ ।
सुर्खेतमा आज आयोजित ‘आयोजनाको प्रस्ताव तथा छनोट प्रक्रियासम्बन्धी कार्यविधि, २०८१’ र ‘कर्णाली प्रदेश आयोजना बैंक ९कार्यसञ्चालन तथा व्यवस्थापन० मापदण्ड, २०८१’ को प्रारम्भिक मस्यौदामाथि छलफल उहाँले विगतको अभ्यासबाट पाठ सिक्दै आगामी वर्षको बजेट निर्माणमा थप सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।
विकास र निर्माणमा गर्ने आ–आफ्नो बजेट भए पनि सबै तहका सरकार र निकायबीच सहकार्य अपरिहार्य रहेको मुख्यमन्त्री कँडेलको भनाइ थियो । उहाँले प्रदेश सरकार, स्थानीय सरकार र सङ्घ सरकारबीचको कामको प्रभाव जनताले एउटै आँखाले हेर्ने भएकाले योजनाको छनोट, कार्यान्वयन र मूल्याङ्कनमा एकरूपता र पारदर्शिता हुनु जरूरी रहेको उल्लेख गनुभयोे ।
नेपाली कांग्रेसका सचेतक हिक्मत विष्टले जिल्लाबाट आयोजना सिफारिस गर्दा गहिरो अध्ययन नभएको कारण बजेट निर्माण जटिल भएको भन्दै अब सङ्कलनमुखी होइन, आवश्यकता र प्रभाव आधारित आयोजना छनोट गरिनुपर्नेमा जोड दिनुभयो ।
नेकपा ९एमाले०का सचेतक टेकराज पछाईले कार्यविधिको निर्माणले कर्णालीमा सुशासनको सकारात्मक सङ्केत दिएको बताउँदै विगतमा भएका कमजोरीलाई सुधार गर्दै परिणाममुखी योजना कार्यान्वयनको कार्यविधिले आधार तयार गरिएको उल्लेख गनुभयो ।
त्यस्तै, नेकपा ९माओवादी केन्द्र० की प्रदेशसभा सदस्य उर्मिला विश्वकर्माले प्रस्तुत कार्यविधि र मापदण्डप्रति सन्तोष व्यक्त गर्दै यसलाई अझ सरल बनाउन गर्न सुझाव दिनुभयो । कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले छलफलमा उठेका सुझावहरूको अध्ययन गरी कार्यविधि र मापदण्डमा आवश्यक संशोधन गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङ, पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, कर्णाली प्रदेश सरकारका मन्त्रीहरू, कर्णाली प्रदेशसभा सदस्यहरू, गाउँपालिका महासङ्घ र नगरपालिका महासङ्घका अध्यक्ष, मन्त्रालयका सचिवहरूको उपस्थिति रहेको थियो ।










