खजुरा (बाँके)। राष्ट्रिय समाचार समिति (रासस) ले पहिलो पटक अवधी भाषामा सुरु गरेको समाचार सेवाको चालु आर्थिक वर्षका लागि नयाँ सम्झौता गरेको छ ।
राससले नेपालगञ्ज उपमहानगरपालिका, बाँकेसँग आज सम्झौता गरेको हो । राससका वरिष्ठ कार्यकारी व्यवस्थापक शिलतप्रसाद महतो र उपमहानगरपालिकाका सामाजिक विकास शाखा प्रमुख वरिष्ठ प्रशासकीय अधिकृत कृष्णप्रसाद जोशीले सम्झौता पत्रमा आज यहाँ हस्ताक्षर गर्नुभयो ।
सम्झौताअनुसार राससले हप्ताको छ दिन अवधी भाषामा समाचार सम्प्रेषण गर्नेछ । यसबाट अवधी भाषाका सञ्चारमाध्यम र भाषाभाषी लाभान्वित हुने विश्वास गरिएको छ ।
लुम्बिनी प्रदेशअन्र्तगतका नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया जिल्लामा अवधीभाषी समुदायको बाहुल्य रहेको र उनीहरुको मातृभाषालाई संरक्षण र सम्वर्द्धन गर्न सो सेवा प्रभावकारी भएको छ ।
बाँके जिल्ला अवधी भाषीको बाहुल्य क्षेत्र भएको र यस उपमहानगरपालिकामा रहेका सञ्चारमाध्यममार्फत रासस अवधी समाचार सेवाले समुदायको सशक्तीकरण भएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो ।
सो अवसरमा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्न यस सेवाबाट टेवा पुग्ने उल्लेख गर्नुभयो । राससका वरिष्ठ कार्यकारी व्यवस्थापक महतोले विगत दुई वर्षदेखि निरन्तर सेवा सञ्चालनका लागि उपमहानगरपालिकाले गरेको सहयोगलाई धन्यवाद दिँदै अवधी समाचार सेवाले यस क्षेत्रका स्थानीय सञ्चारमाध्यमले बढी लाभ लिने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले राससले मातृभाषा (अवधी, मैथिली र नेपाल भाषा) को समाचार सेवा निःशुल्क रुपमा उपलब्ध गराएको बताउनुभयो । चालु आर्थिक वर्षको पुस मसान्तसम्मका लागि सेवा नवीकरण गरी सम्झौता गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका सामाजिक विकास शाखा प्रमुख जोशीले बताउनुभयो ।
नेपालगञ्जबाट प्रकाशन हुने दिपज्वाला दैनिक पत्रिका, दैनिक खबरी पत्रिका, र पैरवी अनलाइनले राससको अवधी समाचार सेवा नियमित रुपमा प्रयोग गर्दै आएको अवधी समाचार सेवाका अनुवादक÷सम्पादक राकेशकुमार मिश्रले जानकारी दिनुभयो ।










