काठमाडौं : भारतीय संगीत उत्पादन कम्पनी ‘टि सिरिज’ले नेपाली गायक सुशान्त केसीको बहुचर्चित गीत ‘बार्दली’लाई हिन्दी भाषामा सार्वजनिक गरेको छ।
टि सिरिजले सोमबार आफ्नो युट्युब च्यानलबाट गीत दर्शकमाझ ल्याएको हो।हिन्दी भर्सनमा गीतको बोल ‘उफ्’ राखिएको छ।
गीतको भिडियोमा सुशान्त र स्वस्तिमा खड्का फिचर्ड छन्। भिडियोको सेटिङ एउटै भए पनि नेपालीमा फिचर्ड हुने अन्य कलाकारलाई भने हिन्दी भर्सनमा देखाइएको छैन।
गीतमा इन्द्रकला राईले गाएको ‘लैजाउ है लैजाउ मलाई…’ भने नेपालीमै राखिएको छ। गीतको नेपाली संस्करण निकै हिट भएको थियो। यो गीत युट्युबको ग्लोबल ट्रेन्डिङमा समेत स्ट्रिमिङ भएको थियो।
भारतीय चर्चित म्युजिक लेबलसँग नेपाली इन्टरनेट प्लाटफर्ममा रुचाइएका गायकको यो सहकार्यलाई महत्वका साथ लिइएको छ।










