काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथास्थितिवादी सरकारविरुद्ध ठूलो आन्दोलन र नयाँ क्रान्तिको तयारी गर्नुपर्ने बताएका छन्।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघको कार्यक्रममा उनले सरकारमा जाने कुनै रुचि नभएको भन्दै जनतासँगै विद्रोहमा उत्रने उद्घोष गरे।
“तपाईंहरू तयारीमा जुट्नुस्, छिट्टै हामी ठूलो आन्दोलनमा जानेछौं,” प्रचण्डले भने, “यथास्थितिवादी पार्टीसँग हातेमालो गरेर सरकारमा बस्ने हाम्रो कुनै मनसाय छैन। हामी जनता र हाम्रो वर्गसँगै छौँ।”
उनले जनक्रान्तिका योद्धा, पीएलएका कमाण्डर, घाइते, अपाङ्ग र ०६४ मा मत दिने जनतासँग एकजुट भएर नयाँ क्रान्तिको आह्वान गरे।
प्रचण्डले आन्दोलन शान्तिपूर्ण हुने दाबी गर्दै सरकारले दमन गरे जनताको विद्रोहलाई कुनै शक्तिले रोक्न नसक्ने ठोकुवा गरे।
“राज्यले बल प्रयोग गरेर हामीलाई दबाउन खोज्छ भने जनताको विद्रोहको अधिकारलाई विश्वको कुनै तागतले छेक्न सक्दैन, नेपालमा पनि सक्ने छैन”, उनले चेतावनी दिए।
आन्दोलनमार्फत सबै समस्याको समाधान खोज्ने प्रचण्डको दाबी छ। उनले कार्यकर्तालाई दमनकारी नीतिविरुद्ध एकजुट भएर तयारीमा जुट्न निर्देशन दिएका छन्।










