एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत वाशिङ्टनको मध्यस्थतामा रातभरि भएको वार्तापछि भारत र पाकिस्तानबीच युद्ध विरामको सहमति भएको सार्वजनिक गर्दा पत्याइहाल्ने अवस्था थिएन।
जब भारत र पाकिस्तान युद्धमा होमिने तयारीमा थिए त्यो बेलामा अमेरिकाले त्यति चासो देखाएको थिएन। पाकिस्तानले शनिबार मात्रै भारतको अप्रेशन सिन्दुरको काउन्टरका आफ्नै सैन्य अप्रेशनको नामकरण गरेर आक्रमण थप आक्रामक हुने सङ्केत गरेको थियो।
तर, ट्रम्पले सामाजिक सञ्जालबाट गरेको घोषणा केही समयमै पुष्टि भयो। भारत अनि पाकिस्तान दुवै पक्षबाट नेपाली समयअनुसार साँझ ५:१५ बजेबाट कार्यान्वयन हुनेगरि युद्ध विरामको सहमति भएको बताए।
भारतका विदेश मन्त्री सुब्रह्मण्यम जयशंकरले एक्समा लेखे, ‘भारत र पाकिस्तानले आज गोलीबारी र सैन्य कारबाही रोक्नेबारे समझदारी गरेका छन्।’
ट्रम्पको घोषणा लगत्तै पाकिस्तानी विदेश मन्त्री इसहाक दारले एक्समा लेखे, ‘पाकिस्तान र भारतले तत्काल प्रभावकारी युद्धविराममा सहमति जनाएका छन्।’
शनिबार जयशंकर र दारले अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच कुराकानी भएको थियो।
भारतका विदेश सचिव विक्रम मिश्रीले भारत र पाकिस्तानबीच युद्धविराममा सहमति भएको पुष्टि गर्दै युद्धविराम स्थानीय समयानुसार बेलुका सवा पाँच बजेदेखि लागू भएको बताए।
पत्रकार सम्मेलनमा मिश्रीले पाकिस्तानका सैन्य सञ्चालन महानिर्देशकले शनिबार दिउँसो आफ्ना भारतीय समकक्षीसँग फोनवार्ता गरेको र वार्ताका क्रममा दुवै पक्षले ‘सबै गोलीबारी र सैन्य कारबाही रोक्ने’ सहमति गरेको बताए।
मिश्रीले दुई देशका महानिर्देशकहरूबीच सोमबार फेरि कुराकानी गर्ने सहमति भएको जानकारी दिए।
गत महिना भारत नियन्त्रित कश्मीरमा भएको बन्दुकधारीहरूको आक्रमणमा एक नेपालीसहित २६ पर्यटकहरूको हत्या भएको थियो।
भारतले आक्रमणका लागि पाकिस्तानलाई दोष दिएर बुधबार पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीर दुवैमा ‘अपरेशन सिन्दूर’ सञ्चालन गरेको थियो। इस्लामाबादले हत्यामा आफ्नो संलग्नता अस्वीकार गरिरहेको छ।










