काठमाडौं : जेठ १५ गतेबाट विश्वव्यापी रूपमा प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘महाभोज’ सहकारी घोटालाबाट पीडित सर्वसाधारणको कथा हो।
चलचित्रका अभिनेता दयाहाङ राईका अनुसार, ‘महाभोज’ ले आर्थिक क्रान्तिको सपना बोकेर सुरु गरिएका सहकारीहरू कसरी भ्रष्ट प्रवृत्ति र स्वार्थको शिकार भए भन्ने यथार्थ देखाउँछ।
दयाहाङ भन्छन्, ‘सहकारी संस्था आर्थिक रूपान्तरणको सुन्दर अभ्यास थियो, तर पहुँचमा रहेका केहीले सर्वसाधारणको पसिना चुस्ने काम गरे। यो समस्या आजको मात्र होइन, पुरानै हो।’
उनका अनुसार चलचित्रले कथामात्र होइन, गहिरा प्रश्नहरू उठाएको छ—किन यस्तो भइरहेको छ? कसको महत्त्वाकांक्षा जिम्मेवार छ?
दयाहाङ भन्छन्, ‘यो चलचित्र कुनै विशिष्ट वर्गको मात्र होइन, हरेक नेपालीको कथा हो।’
फिल्मले सहकारीमार्फत भएको आर्थिक शोषण, त्यसबाट उत्पन्न वर्गीय, पारिवारिक र सामाजिक द्वन्द्व, नैतिक संकट र नेपाली समाजमा पैसाले खडा गर्ने विभाजनमाथि प्रश्न उठाउँछ।
‘महाभोज’ मा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, वसुन्धरा भुसाललगायतका कलाकारको अभिनय रहेको छ।
चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् भने निर्माता हिमाल कडरिया हुन्। कथा तथा पटकथा सुवेदीको हो। क्लक वर्क क्रियशन र पिक्चर फ्रेम को संयुक्त ब्यानरमा बनेको चलचित्र नेपालसहित विदेशका विभिन्न देशमा एकै दिन प्रदर्शनमा आउनेछ।










