टेरामक्स खरिद अनियमितता प्रकरण : पूर्वमन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा

टेरामक्स खरिद अनियमितता प्रकरण : पूर्वमन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा

बिनिता कुवर क्षेत्रि
3 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं : टेरामक्स खरिदमा अनियमितता गरेको आरोपमा पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य मोहन बहादुर बस्नेतसहित १६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगले बस्नेतलगायतको समूहले कानुनविपरीत कार्य गरी अख्तियारको दुरुपयोग गरेको भन्दै तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार एक सय ८२ रुपैयाँ बिगो असुल गर्नुपर्ने मागदाबीसहित आरोपपत्र दर्ता गरेको हो।

नेपाल दूरसञ्चार प्राधिकरणले “टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स)” खरिद प्रक्रियामा परामर्शदाता छनोट गर्दा अयोग्य कम्पनीलाई सहभागी गराएर छनोट गरिएको, त्यसका लागि गलत प्रतिवेदन तयार पारिएको र प्रक्रिया नै भ्रष्ट भएको आयोगको आरोप छ।

आरोपपत्रअनुसार, टेरामक्स प्रणालीको स्थापना तथा सञ्चालनमा सर्वोच्च अदालतको परमादेशअनुसार कानुनी प्रक्रिया नअपनाई, नागरिकको व्यक्तिगत सूचना पहुँच हुने संरचना अनधिकृत रूपमा निर्माण गरिएको छ। यस क्रममा राज्यको सम्पत्ति दुरुपयोग गरिएको र भ्रष्टाचार गरिएको आयोगको निष्कर्ष छ।

अनुसन्धानका क्रममा नेपाल दूरसञ्चार नियमावली, २०५४ को दफा ३४(ग) बमोजिम प्राधिकरणले आ.व. २०७४/७५ को वार्षिक कार्यक्रम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाउँदा टेरामक्स समावेश नभएको पाइएको थियो। तर, तत्कालीन सञ्चारमन्त्री बस्नेतले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर एकल निर्णयमार्फत सो प्रणाली कार्यान्वयन गर्न निर्देशन दिएको अख्तियारको दाबी छ।

बस्नेतको निर्देशनपछि प्राधिकरणका तत्कालीन पदाधिकारीहरूले आपसी मिलेमतोमा सर्वोच्च अदालतको आदेशविपरीत तथा प्रचलित कानून उल्लंघन गर्दै सार्वजनिक संस्थालाई हानि पुर्‍याउने कार्य गरेको आरोप छ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार कसुर प्रमाणित भएको भन्दै सबै प्रतिवादीलाई सजाय माग गर्दै विशेष अदालतमा बिहीबार मुद्दा दायर गरेको जनाएको छ।

कसकसाविरुद्ध मुद्दा?
मुद्दा दायर गरिएका व्यक्तिहरूमा तत्कालीन सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतसँगै नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र पुरुषोत्तम खनाल, सदस्यहरू धनराज ज्ञवाली र टीका प्रसाद उप्रेती छन्।

त्यसैगरी, प्राधिकरणका निर्देशक विजयकुमार राय, सुरेन्द्रलाल हाडा, दिपेश आचार्य, उप-निर्देशकहरू राम पन्थ, सुरेश बस्नेत, सन्दीप अधिकारी र हिरण्यप्रसाद बस्ताकोटीविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ।

परामर्शदाता कम्पनी ‘भेन्राइज सोलुसन्स एसएएल (अफशोर)’ तथा सो कम्पनीका सीईओ जमल अनौटी, साथै स्थानीय एजेन्ट कनेक्शन ट्रेड लिंक प्रालि, त्यसका अध्यक्ष दिलिप कुमार गुरुङ र निर्देशक तेज प्रसाद खरेलसमेत प्रतिवादी बनाइएको छन्।

यी सबै प्रतिवादीहरूबाट संयुक्त रूपमा तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार एक सय ८२ रुपैयाँ असुल गर्नुपर्ने माग दाबी गरिएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस