काठमाडौं : नेपाली फिल्म क्षेत्रमा अभिनेता राजेश हमालको डेब्युभन्दा अघि सरोज खनालले अभिनयको दुनियाँमा निर्विवाद राज गरिरहेका थिए। त्यसबेला भुवन केसी, शिव श्रेष्ठ र सरोज खनालकै जमाना थियो।
निर्माता–निर्देशकहरूका लागि सरोजलाई फिल्ममा अनुबन्ध गर्नु र सुटिङमा उपस्थित गराउनु सजिलो थिएन। तर, जब हमालले ‘युगदेखि युगसम्म’ बाट डेब्यु गरे, सरोजको करिअरले ओरालो लाग्न थालेको भनिन्छ।
अभिनेता हमाल र खनालले सन् १९९३ मा फिल्म परिभाषा मा पहिलो पटक सहकार्य गरेका थिए। त्यसपछि यी दुई कलाकारले तीन दशकसम्म कुनै फिल्ममा सहकार्य गरेनन्।
दर्शकले कहिल्यै उनीहरूलाई एउटै पर्दामा देख्न पाएनन्। यद्यपि, दुवैजना आ–आफ्नो समयका सुपरस्टार थिए र आपसमा अनौपचारिक प्रतिष्पर्धा पनि थियो।
अब, परिभाषा को ठ्याक्कै ३२ वर्षपछि सरोज र राजेश पुनः एउटै पर्दामा देखिन लागेका छन्- दीवाकर भट्टराईद्वारा निर्देशित फिल्म नरसिंहा: अवतार मा।
अभिनयपछि दंग सरोज, मौन राजेश
नरसिंहा को छायांकनका क्रममा सरोज खनालले राजेश हमालसँग खिचिएको फोटो आफ्नो फेसबुकमा पोस्ट गरेका थिए। उनले परिभाषा र नरसिंहा को फोटो एकै पोस्टमा राख्दै लेखेका थिए, “हामी ३१ वर्षपछि सँगै काम गर्दैछौँ।” तस्वीरमा उनी उत्साहित देखिन्छन्।
तर, राजेश हमालले भने सरोजसँग पुनः सहकार्यबारे कुनै प्रतिक्रिया दिएका छैनन्, न सामाजिक सञ्जालमा तस्बिर नै पोष्ट गरेका छन्। यता सरोजले भने पुराना दिन सम्झिँदै हमालसँग सहकार्यलाई स्मरणीय बनाएका छन्।
राजेशलाई निर्देशन गर्ने सरोजको चाहना
सरोज खनालले अभिनेत्री करिश्मा मानन्धरसँग बगान फिल्म निर्देशन गर्दै आफ्नो निर्देशकको यात्रा थालेका थिए। समीक्षात्मक रूपमा कमजोर भए पनि फिल्मले व्यावसायिक रूपमा ठीकठाक व्यापार गरेको थियो। त्यसपछि उनले अर्को फिल्ममा राजेश हमाल र शिव श्रेष्ठलाई पनि समेट्ने योजना बनाएका थिए।
डेढ वर्षअघि हिमालय टेलिभिजनको कार्यक्रममा सरोजले विकासराज आचार्यसँग मिलेर संयुक्त निर्देशनमा नयाँ फिल्म बनाउने बताएका थिए। “हिजोसम्म १४ वटा सीन लेखिसकियो,” उनले भनेका थिए।
सोही वर्षको दशैंमा फिल्म थाल्ने योजना थियो। तर, दुई वटा दशैं बितिसक्दा पनि फिल्म बन्न सकेको छैन।
अहिले थिएटरमा फर्किँदै
अहिले सरोज खनाल सोमनाथ खनालको निर्देशनमा मण्डला नाटकघरमा मञ्चन हुन लागेको एक अनटाइटल नाटकको तयारीमा व्यस्त छन्। केही दिनअघि मण्डलामा भेटिएका सरोजले भनेका थिए, ‘म आफ्नै घर (थिएटर) मा फर्किंदै छु।’
यही कारणले उनीले निर्देशन गर्ने भनिएको फिल्म अब बन्ने सम्भावना न्यून देखिन्छ। तीन दशकपछि पर्दामा फर्किएको जोडीको सहकार्य त देखियो, तर सरोजको निर्देशनमा राजेशलाई अभिनय गराउने सपना अझै अधुरै देखिन्छ।










