बल्ल सुटिङमा गयो ‘ऐरी’, २०२४ मै भएको थियो रिलिज घोषणा

बल्ल सुटिङमा गयो ‘ऐरी’, २०२४ मै भएको थियो रिलिज घोषणा

बिनिता कुवर क्षेत्रि
2 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं : दुई वर्षअघि ठूला कुरा र रंगीन पोस्टरसहित घोषणा गरिएको फिल्म ऐरी अन्ततः निर्माण चरणमा प्रवेश गरेको छ। अभिनेता प्रदीप खड्कालाई अगाडि र पछाडि बाघको चित्र राखेर मंसिर २०७९ मा सार्वजनिक गरिएको पोस्टरसँगै फिल्म सन् २०२४ मै रिलिज हुने भनिएको थियो। तर, निर्माण प्रक्रिया थालिएको थिएन, जसले फिल्म नबन्ने हो कि भन्ने शंका जन्माएको थियो।

अब भने निर्देशक जीवन थापाको निर्देशनमा ऐरी ले छायांकन सुरु गरेको छ। हाल पश्चिम बागलुङस्थित ढोरपाटन उपत्यकामा फिल्मको छायांकन चलिरहेको छ। बुधबारदेखि प्रदीप खड्का, भुटानी अभिनेत्री चुम दरङ (बिग बोस फेम) र सोनम लामासहितको पहिलो दृश्य खिचिएको निर्माण टिमले जनाएको छ।

फिल्ममा प्रदीपसँगै अभिनेता धीरज मगर र भुटानी कलाकार सांगे सेल्ट्रिमको समेत मुख्य भूमिका रहनेछ। बलिउड फिल्म जवान मा पनि देखिएका सांगेले ऐरी मा कुन भूमिकामा देखिने हुन् भन्ने खुलाइएको छैन, यद्यपि उनी प्रहरीको भूमिकामा देखिन सक्ने चर्चा छ। चुम दरङ फिल्ममा प्रदीपको अपोजिट अभिनेत्रीका रूपमा प्रस्तुत हुने बताइएको छ।

निर्माण पक्षले ढोरपाटन क्षेत्रमा मात्रै करिब ५० दिनसम्म छायांकन गर्ने योजना बनाएको छ। त्यसपछि बाँकी दृश्यहरू काठमाडौं र भारतका केही स्थानमा खिचिनेछ। कुल छायांकनमा तीन महिना लाग्ने र त्यसपछि झन्डै आठ महिना भीएफएक्स (भिजुअल इफेक्ट्स) मा समय खर्चिने तयारी रहेको छ। त्यसअनुसार, फिल्म तयार हुन करिब एक वर्ष लाग्ने अनुमान गरिएको छ।

ऐरी नेपाली र हिन्दीका साथै दक्षिण भारतीय भाषाहरूमा समेत डब गरेर रिलिज गरिनेछ। फिल्ममा सुवास काले, प्रसान्तकुमार गुप्ता र राजन कुँवरको संयुक्त लगानी रहेको छ।

यसैबीच, अभिनेता प्रदीप खड्काको पछिल्लो फिल्म पिताम्बर अहिले प्रदर्शनमा रहेको छ भने अर्को फिल्म एक्लो तिहारमा रिलिज हुने चर्चा छ, यद्यपि यसको औपचारिक घोषणा भइसकेको छैन।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय