ताप्लेजुङ र कालीकोटमा सवारी दुर्घटना हुँदा आठ जनाको मृत्यु

ताप्लेजुङ र कालीकोटमा सवारी दुर्घटना हुँदा आठ जनाको मृत्यु

बिनिता कुवर क्षेत्रि
3 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं – पूर्वी जिल्ला ताप्लेजुङ र कर्णाली प्रदेशको कालीकोटमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ।

ताप्लेजुङमा बोलेरोमा आगलागी, चार जनाको मृत्यु
ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको मे१च ३०११ नम्बरको बोलेरो गाडीमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ।

आज बिहान करिब ५:०० बजे फुङ्लिङ नगरपालिका-१० सेवारोचोकमा विद्युत्को पोलबाट चुँडिएको तार सडकमा झरेको र उक्त तारमा गाडी अल्झिँदा अचानक आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतका अनुसार मृत्यु हुनेमा ललितपुर महानगरपालिका-१० की १६ वर्षीया आध्या आचार्य, झापा भद्रपुर नगरपालिका-१५ का ७० वर्षीय विनोद पौडेल, उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र सवारी चालक ताप्लेजुङ फुङलिङ नगरपालिका-१० का ४२ वर्षीय दुर्गा भट्टराई रहेका छन्।

दुर्घटनामा ललितपुर-१० की ४५ वर्षीया सविना आचार्य र उनका १० वर्षीय छोरा भविमय आचार्य घाइते भएका छन्। दुवै घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

कालीकोटमा ट्र्याक्टर दुर्घटना, चार जनाको मृत्यु
कालीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। पलाँता गाउँपालिका-९ थिर्पुबाट पलाँता-४ छलतर्फ खाद्यान्न र खुद्रा सामान लिएर जाँदै गरेको नम्बर नखुलेको ट्र्याक्टर पलाँता-२ बुडाडाँडा नजिक गएराति दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

दुर्घटनामा मृत्यु हुनेमा ट्र्याक्टरका चालक मुगु, खत्याड गाउँपालिका-५ कवाका २५ वर्षीय चन्द्र प्रकाश रोकाय, कालीकोट पलाँता गाउँपालिका-४ का २१ वर्षीय रवीन्द्र विक, सोही स्थानका ३२ वर्षीया सदु बुढा र पलाँता-५ सल्लीकोटकी २५/२६ वर्षीय अम्बा शाही रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख टेकबहादुर रावतका अनुसार चारै जनाको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनाग्रस्त ट्र्याक्टर सडकभन्दा तल अप्ठेरो भिरमा अड्किएको छ भने शवहरू भने सडकभन्दा करिब २०० मिटर तल भेटिएका थिए।

नेपालमा सवारी दुर्घटनाको पछिल्लो अवस्था
नेपालमा सवारी दुर्घटना प्रमुख जनस्वास्थ्य समस्याको रूपमा रहेको छ। ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार नेपालमा दैनिक औसतमा १०-१२ जनाको सवारी दुर्घटनामा मृत्यु हुने गरेको छ।

पछिल्ला वर्षहरूमा सडक विस्तारसँगै सवारीको संख्यामा भएको वृद्धि, सडकको गुणस्तरमा कमी, पर्याप्त सुरक्षा मापदण्डको अभाव, चालकको लापरवाही र प्राविधिक कारणले दुर्घटनाको संख्या बढिरहेको विज्ञहरूले बताउँदै आएका छन्।

विशेषगरी पहाडी र हिमाली क्षेत्रमा कच्ची सडक, भौगोलिक विकटता, जीर्ण सवारी साधन, अतिभारित सवारी साधन, मौसमी प्रतिकूलता र सुरक्षा मापदण्ड नअपनाउनुजस्ता कारणले ठूला दुर्घटनाहरू हुने गरेका छन्।

सडक विभागको प्रतिवेदन अनुसार सवारी दुर्घटनामा मानवीय क्षति र सम्पत्ति नोक्सानी वार्षिक रूपमा नेपालको कुल गार्हस्थ्य उत्पादनको १.५ प्रतिशतभन्दा बढी रहेको अनुमान छ।

सरकारले सवारी दुर्घटना न्यूनीकरणका लागि ‘सुरक्षित भविष्यका लागि सुरक्षित सडक’ अभियान र सडक सुरक्षा रणनीति कार्यान्वयनमा ल्याए पनि दुर्घटना कम गर्न अझै चुनौती रहेको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस