काठमाडौं : सुरुवाती दिनमा अञ्जनालाई दर्शकले चिन्न नै निकै समय लगाए। हरिवंश आचार्य जस्ता दिग्गजको अगाडि ‘महापुरुष’मा उनी ओझेलमै परिन्।
विपिन कार्कीसँगको ‘घुमी घुमी’ म्युजिक भिडियोले थोरै चिनाए पनि, चर्चा त उनको ‘पूजार सार्की’ पछि मात्र सुरू भएको हो। ‘पूजार सार्की’पछि ‘पूर्णबहादुरको सारङ्गी’ हुँदै ‘महाभोज’सम्म आइपुग्दा अञ्जनाको खासै फ्लप फिल्म छैनन्।
कुरो हो- उनको पछिल्लो फिल्म ‘डोरी’को। हलमा पानी समेत पिउन पाएन भनिएको यो फिल्म फ्लप हुनुमा आखिर कसको दोष? निर्माता, निर्देशक, कथा, वा कलाकार? सामान्यतया, फिल्म चलेन भने त्यसको आँच कलाकारलाई पनि पर्छ। तर, अञ्जनालाई चाहिँ यस्तो लाग्दो रहेनछ!
हालै ‘महाभोज’को ट्रेलर रिलिज कार्यक्रममा उनले खुलेआम भनिदिइन्, ‘फिल्म असफल हुँदा म त्यसको जिम्मेवारी लिन्नँ!’
उनले भनिन्, ‘कलाकारले त आफ्नो शतप्रतिशत दिने हो, त्यसपछि हलमा दर्शक आउने नआउने कुरा हाम्रो हातमा हुँदैन। त्यो दोष हामीले बोक्नुपर्दैन।’
फिल्म हिट हुँदा सबैले कलाकारको तारिफ गर्छन्, अनि फ्लप हुँदा दोष लिनुपर्दैन रे! ‘डोरी’मा पनि आफूहरूले शतप्रतिशत दिएको दाबी गर्दै उनले भनिन्, ‘चलचित्र नचलेकोमा दुःख लाग्छ, तर त्यो कुरालाई म मेरो टाउकोमा लिएर हिँड्दिनँ। म कलाकार हुँ, मेरो काम गर्छु। फिल्म हलमा लागिसकेपछिको कुरा मेरो हातमा हुँदैन।’
सिधा सिधा भन्दा, उनले फिल्म हिट गराउने वा फ्लप हुने कुरामा कलाकारको कुनै हात नहुने दाबी गरिन्।
‘मैले त काम गर्ने हो, मैले शतप्रतिशत योगदान दिने हो। त्यसपछि चल्छ-चल्दैन त्यो मेरो हातको कुरा होइन। कुनै पनि कलाकारको हात हुन्छ जस्तो मलाई लाग्दैन।’
फिल्म निर्माण एउटा सामूहिक प्रयास हो। निर्देशक, लेखक, निर्माता र कलाकार सबै मिलेर बन्ने गर्छ। अनि असफलताको जिम्मेवारीबाट कलाकार मात्र पन्छिन मिल्छ र अञ्जना जी!










