लेखनाथ कास्की। नेवार समुदायमा प्रचलित तायाःमचा नृत्य यो समुदायमा मात्र नभई केही वर्षयता अन्य समुदायमा पनि लोकप्रिय बन्दै गएको छ ।
दुई सय ५० वर्ष पुरानो यो नृत्य पछिल्ला वर्ष सबै समुदायको साझा पर्वका रूपमा विकास भइरहेको नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिनुभयो । नेवारी समुदायका युवा यस नृत्यप्रति आकर्षित भइरहेको उहाँले बताउनुभयो ।
यसको थप प्रचारप्रसार गर्ने उद्देश्यले ‘कला संस्कृतिको संरक्षण–भावी पुस्तालाई हस्तान्तरण’ भन्ने मूल नाराका साथ यसवर्ष कृष्ण जन्माष्टमीका दिन अर्थात् साउन ३१ गते पोखरा–३० सिसुवामा २६औँ ताया ःमचा नृत्य प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष पालिखेले बताउनुभयो । नेवाःखल कास्कीको आह्वानमा सिसुवा नेवाःखलले जिल्लास्तरीय प्रतियोगिता आयोजना गर्न लागेको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नृत्यमा नाच्ने ९० प्रतिशत नेवारी युवा नै छन् । प्रतियोगितामा कास्कीका ३५ समूहले सहभागिता जनाउने छन् ।
नृत्य प्रतियोगिताका संयोजक एवं सिसुवा नेवाः खलका अध्यक्ष अर्जुनकुमार ताम्रकारले मान्छेलाई सिङ बनाइ महिलाका लुगा दुपट्टा, तास, ढाका र अन्य चोलोहरू डोकोमा बेरी गाईलाई पूजा गर्दै बजार परिक्रमा गरिने परम्परा नै तायाःमचा भएको बताउनुभयो ।
नृत्यमा चारजना परी र एकजना नाङ्ेच्या हुन्छन् । सबैलाई बाजाको तीन तालमा नचाइन्छ ।










