फेसबुक सञ्चालक संस्था मेटाले नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको छ ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधिमन्त्रीका विज्ञ सल्लाहकार सालिकराम पराजुलीसँग इमेलमार्फत विवरण मागेका थिए ।
ठाकुरले भने, ‘पौने ५ बजे मेटाका प्रतिनिधिले इमेलमार्फत कागजातको विवरण माग्नुभएको थियो । हामीले ५ मिनेटभित्रै आवश्यक कागजातको जानकारी पठाएका छौँ ।’
यसैबीच नेपाल सरकारले सूचीकृत नभएका सामाजिक सञ्जालको प्रयोग क्रमशः रोक्ने निर्णय गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीलाई २६ वटा सामाजिक सञ्जाल बन्द गर्न पत्राचार पनि गरिसकेको छ ।










