उपभोक्ताको आयआर्जनमा टेवा पुर्याउन पुरैनातालमा माछापालन

उपभोक्ताको आयआर्जनमा टेवा पुर्याउन पुरैनातालमा माछापालन

खबर जुम
2 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–९ मा अवस्थित वृन्दावन सामुदायिक वनभित्र रहेको प्राकृतिक पुरैनातालमा व्यावसायिक रूपमा माछापालन गरिएको छ । उपभोक्ताको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यसहित सामुदायिक वन उपभोक्ता समितिले माछापालन गरेको हो ।

सामुदायिक वनका अध्यक्ष मोहनसिंह ऐरका अनुसार तालमा रोहु, कमन र ग्रास जातका गरी २५ हजार माछाका भुरा राखेर माछापालन गरिएको छ । “हाल माछाको तौल एक किलोदेखि दुई किलोसम्म पुगिसकेको छ”, अध्यक्ष ऐरले भन्नुभयो, “दसैँतिहारको समयमा बिक्रीका लागि निकाल्ने योजना बनाएका छौँ ।”

तालबाट दुई सयदेखि दुई सय ७५ क्विन्टल माछा उत्पादन हुने उहाँले बताउनुभयो । उहाँका अनुसार माछा बिक्रीबाट सङ्कलित आम्दानी वन क्षेत्रमा मेसवायर जडान, विपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति, र उपभोक्तालाई तरकारीखेती र पशुपालनतर्फ प्रोत्साहन गर्न प्रयोग गरिनेछ ।

“पहिलो प्राथमिकता वन संरक्षण र विकासलाई दिएका छौँ”, अध्यक्ष ऐरले बताउनुभयो, “छ किलोमिटर क्षेत्रमा मेसवायर जडान गरिनेछ, त्यसपछि कृषि तथा पशुपालनमा लगानी हुनेछ ।” गर्मीयाममा अकासे पानी मात्रमा निर्भर तालमा पानी सुक्ने समस्या देखिएको छ ।

“अटोजन बोरिङको व्यवस्था भएमा तालमा एकनासको पानी आपूर्ति गर्न सकिनेछ”, अध्यक्ष ऐरले भन्नुभयो, “यसका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारलाई आवश्यक बजेटका लागि आग्रह गरेका छौँ ।”

वृन्दावन सामुदायिक वन क्षेत्रमा पुरैना, लरङ्गा र अजिङ्गर ताल रहेका छन् । पुरैनाताल पूरै सुक्दैन, तर बाँकी दुई तालमा गर्मीयाममा पानी सुक्ने समस्या देखिन्छ । तीनै तालमा बाह्रै महिना पानी रहने व्यवस्था मिलाइएमा यो क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको अध्यक्ष ऐर बताउनुहुन्छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस