पत्रकारद्वारा जिल्ला प्रशासन कार्यालयको सरसफाइ

पत्रकारद्वारा जिल्ला प्रशासन कार्यालयको सरसफाइ

खबर जुम
3 Min Read

जुम नेपाल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

टङ्कीसिनुवारी (मोरङ)। नेपाल पत्रकार महासङ्घ मोरङको अगुवाइमा विराटनगर महानगरपालिका–७ स्थित जिल्ला प्रशासन कार्यालयको सरसफाइ गरिएको छ । महासङ्घको नेतृत्वमा कार्यालय पुगेका दुई दर्जन बढी पत्रकारले आज बिहान कार्यालय परिसरभित्र र बाहिर सरसफाइ गरेका हुन् ।
गत मङ्गलबार ‘जेनजी’ प्रदर्शनका क्रममा देशैभर सरकारी कार्यालयमा तोडफोड र आगजनीका घटना भएका थिए । जिल्ला प्रशासन कार्यालयमा पनि तोडफोड गर्नुका साथै आगो लगाइएको थियो । आगोबाट कार्यालयका सम्पूर्ण भौतिक संरचना र कागजात जलेर नष्ट भएका छन् । कार्यालय कोठा र परिसरभरि जलेका सामग्रीका राख थुप्रिएका थिए । आज पत्रकारले राख र अन्य फोहरको उचित स्थानमा व्यवस्थापन गर्दै कार्यालयलाई सफा गरेका हुन् ।
जिल्लास्थित नेपाल पत्रकार महासङ्घका अध्यक्ष सुशीला पाठकले शान्तिसुरक्षा कायम गर्ने÷गराउने जिल्ला प्रशासन कार्यालयजस्तो संवेदनशील संस्थाबाट सहज रूपमा सेवा प्रवाहमा सहयोग पु¥याउने उद्देश्यले का लागि पत्रकारहरूले कार्यालय परिसरको सरसफाइ गरेको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घ कोशीका उपाध्यक्ष कुमोद अधिकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यालयको सरसफाइ गरिएको बताउनुभयो । उहाँले कार्यालय परिसरमा केही दिनदेखि जलेका सामग्रीका फोहर, राख र फ्टेका सिसाजन्य वस्तु थुप्रिँदा सेवा प्रवाहमा अवरोध उत्पन्न हुनुका साथै वातावरणमा पनि असर पर्ने हुनाले बिहानदेखि सरसफाइ थालिएको उल्लेख गर्नुभयो ।
जिल्ला प्रशासन कार्यालयले पाल टाँगेर सेवा दिने
यसैबीच जिल्ला प्रशासन कार्यालय मोरङले आइतबारदेखि कार्यालय परिसरभित्र अस्थायी संरचनाको निर्माण गरी पाल टाँगेर काम कारबाही अघि बढाउने निर्णय गरेको छ ।
गत मङ्गलबार भएको जेनजीको प्रदर्शनका क्रममा जिल्ला प्रशासन कार्यालयमा तोडफोड र आगजनी गरिएको थियो भने जिल्लाका विभिन्न सरकारी कार्यालयमा क्षति पुगेको थियो । तोडफोड र आगजनीबाट जिल्ला प्रशासन कार्यालयका भौतिक संरचना र सम्पूर्ण दस्तावेज जलेर नष्ट भएका छन् । साथै कार्यालयमा कर्मचारीलाई बस्ने ठाउँ पनि अभाव छ ।
तोडफोड र आगजनीको घटनापछि जिल्ला प्रशासन कार्यालयबाट सेवा अवरुद्ध भएको थियो । अस्थायी संरचना निर्माण गरेर भए पनि आइतबारदेखि आंशिक सेवा प्रवाह गर्ने तयारी भएको जिल्ला प्रशासन कार्यालयले निर्णय गरेको छ । रासससँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आइतबारदेखि मोरङ प्रशासनका काम कारबाहीलाई अघि बढाउने बताउनुभयो ।
प्रजिअ यादवले कार्यालयको कोठाभित्र बसेर काम गर्नका लागि टेबल, कुर्सी, कम्प्युटर र अन्य सामग्री केही पनि नभएको भन्दै तत्काल आंशिक रूपमा सेवा प्रवाह गर्ने तयारी भएको जानकारी दिनुभयो । प्रशासनले जारी गर्नुपर्ने सूचनाको विषय, सुरक्षा र समन्वयका लागि जिल्ला सुरक्षा समितिको बैठक गन भर्ने सम्भव नभएको उहाँले बताउनुभयो ।
प्रजिअ यादवले पाल टाँगेर आइतबारदेखि जिल्ला सुरक्षा समितिको बैठक गर्ने, जिल्लाभरि भएका क्षतिको विवरण सङ्कलन गर्ने, सो विवरणलाई प्रमाणिकीकरण गर्ने, प्रतिवेदन बनाउने, सुरक्षाका बैठकमार्फत सूचना जारी गरेर जनजीवन सामान्य बनाउनेलगायत काम सुरु गर्ने जानकारी दिनुभयो । आफूहरूसँग भएका सबै संरचना, अभिलेख र प्रविधि जलेर नष्ट भएको अवस्थामा केन्द्रीय निर्देशन र स्रोतसाधनको व्यवस्थापन गरी प्रत्यक्ष रूपमा नागरिकस्तरको सेवा दिइने उहाँले उल्लेख गर्नुभयो ।
Share This Article

प्रतिक्रिया दिनुहोस