काठमाडौं । राजस्थानको विश्व सम्पदा सुचीमा परेका दरबारदेखि मुस्ताङसम्मको सुन्दर दृश्य कैद गरिएको नेपाली चलचित्र ‘जेरी अन टप’को ‘कस्तुरी…’ गीत दर्शकमाझ आएको छ । घटस्थापनाको अवसर पारेर सोमबार यो गीतको भिडियोलाई बुढासुब्बा डिजिटल च्यानलबाट सार्वजनिक गरिएको हो ।
चलचित्र ‘जेरी अन टप’ यसपालिको तिहारको शुभ अवसरमा यही ३१ असोजबाट रिलिज हुने भएको छ । यसै क्रममा चलचित्रको पहिलो गीत ‘कस्तुरी…’ सार्वजनिक गरिएको निर्माण पक्षले जनाएको छ । आशिष् गुवाजु र सदिक्षा कट्टेलको स्वर रहेको गीतमा जयन जे वाइबाको संगीत छ ।
गीतलाई वाइबाले नै लेखेका हुन् । गीतको भिडियोमा अभिनेता अनमोल केसी र अभिनेत्री आँचल शर्माको प्रेम सम्बन्ध प्रस्तुत छ । भिडियो निकै आकर्षक बनेको छ । मुस्ताङदेखि भारतको राजस्थानका भव्य दरबारहरूको रमणीय दृश्यहरूले भिडियोलाई अकर्षक बनाएको छ । भिडियोमा अनमोल र आँचलको प्रेमिल दृष्यहरु छन् । भिडियोलाई किरण थापाले सरल तर आकर्षक कोरियोग्राफी गरेका छन् ।
सुयोग गुरुङको निर्देशनमा तयार भएको ‘जेरी अन टप’मा अनमोल र आँचलसँगै जसिता गुरुङ, केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’, भुवन केसी, उषा खड्गीलगायतको अभिनय छ । सरोज न्यौपानेको प्रस्तुति रहेको यो चलचित्रको निर्मातामा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारी छन् ।
चलचित्रको कथा हेमराज बिसीको हो । ‘जेरी अन टप’मा कालीप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ । सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा यो चलचित्र आधारित छ ।










