काठमाडौं । लोकप्रिय गायिका मेलिना राई र गायक रायन बस्यालको युगल आवाजमा सार्वजनिक भएको ‘प्रियतम प्रियसी, जुनु’ बोलको गीतले सफलता प्राप्त गरेको छ । केही दिन अगाडि गायक बस्यालकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतलाई ३ लाखभन्दा धेरै पटक युट्युबमा हेरिएको छ ।
यस गीतलाई केही दिनअघि राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा विमोचन गरिएको थियो । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले पछिल्लो समय गीतका भाव र मौलिकताको आधारमा लोक संस्कृतिको संरक्षण र संवर्द्धनको लागि कलाकारहरुले ल्याएका गीत विमोचन गर्दै उनीहरुलाई हौसला प्रदान गर्दै आइरहेको छ ।
सोही अनुरुप रायन बस्यालको पछिल्लो ‘प्रियतम प्रियसी, जुनु’ गीतलाई पनि विमोचन गरिदिएको लोक सञ्चारकर्मी नेपालका सचिव कमल ‘सरगम’ चौलाइँले जानकारी दिए । उक्त गीतमा रायन र मेलिनाको आवाजसँगै रायनकै संगीत रहेको छ ।
त्यसैगरी विश्वाश नेपालको संगीत संयोजन रहेको गीतमा मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइली तथा रेकर्डिस्ट कमल थापा मगर र गोविन्द अनेक रहेका छन् । गीतको शब्द पनि गायक रायन र सूर्य कुमार परियारले लेखेका छन् ।
त्यस्तै गीतको भिडियोमा पनि गायक रायन बस्याल आफैँले निर्देशन गरेका छन् भने बुद्ध थापाको सम्पादन तथा प्रविण भट्टको कलर छ । साथै, उक्त भिडियोमा स्वयं रायन बस्याल र सञ्चीता बोलाखे अभिनयको मुख्य भूमिकामा देखिएका छन् भने उनीहरुलाई अमृत राना मगर, शोभा देवकोटा र सिताराम बाले साथ दिएका छन् ।
गीतको शब्दमा माया प्रेमका भावना प्रकट गरिएको सुनाउँदै गायक बस्यालले यो गीतसहित आफूले पाँच वटा गीतमा आवाज दिएको र १०० भन्दा बढी भिडियोमा अभिनय गरिसकेको जानकारी दिए ।










