काठमाडौं — भारतको बेंगलुरुमा सम्पन्न “ग्राउन्ड जिरो इन्टरनेसनल क्यालिस्थेनिक्स च्याम्पियनसिप २०२६” अन्तर्गत भएको वर्ल्ड च्याम्पियनसिप छनोट प्रतियोगितामा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै दुई स्वर्ण र एक रजत पदक जित्न सफल भएका छन्।

अन्डर–६५ केजी स्टाटिक वर्गमा समर लामा प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक विजेता बने। त्यसैगरी अन्डर–६५ केजी फ्रिस्टाइल वर्गमा संगम अधिकारीले दोस्रो स्थान प्राप्त गर्दै रजत पदक जिते।
महिला फ्रिस्टाइल वर्गमा इसुरा राईले प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक जित्नुका साथै वर्ल्ड च्याम्पियनसिपका लागि छनोट हुन सफल भइन्।
यो उपलब्धि नेपालका लागि ऐतिहासिक बनेको छ, किनकि यो नेपालको पहिलोपटक अन्तर्राष्ट्रिय वर्ल्ड क्यालिस्थेनिक्स च्याम्पियनसिपमा सहभागिता हो।
वर्कआउट लिडर तथा क्यालिस्थेनिक्स खेलाडी ८८जगदीश चन्द्र जोशी ‘ज्याक’८८को संयोजनमा नेपाली टोली जनवरी ७ मा बेंगलुरु प्रस्थान गरेको थियो। कुनै पनि सरकारी निकायबाट सहयोग नपाएको उल्लेख गर्दै जोशीले फिटनेस र क्यालिस्थेनिक्स खेलप्रति समर्पित व्यक्तिहरूको सहयोग र हौसल्यका कारण यो सफलता सम्भव भएको बताए।
दुई स्वर्ण र एक रजत पदकसहित नेपाली टोली आइतबार साँझ र्फकेका हुन् । स्वर्ण पदक विजेता खेलाडीहरूले इटालीको रोममा आयोजना हुने वर्ल्ड च्याम्पियनसिपमा सहभागिता जनाउने अवसर पनि प्राप्त गरेका छन्।
यस ऐतिहासिक सफलताले नेपाली खेलकुद क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान दिलाएको छ।










