एजेन्सी : चीनको प्रविधि कम्पनी हुवावेले एनभिडियाको शक्तिशाली चिपजस्तै क्षमता भएका आफ्नै चिपको परीक्षण थालेको छ।
अमेरिकाले चीनलाई अत्याधुनिक चिप बिक्रीमा प्रतिबन्ध लगाएपछि हुवावेले उच्चस्तरको ‘एसेन्ड ९१० डी’ नामक नयाँ चिप विकास गरेको हो।
अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलका अनुसार, हुवावेले यो चिप प्रयोग गरेर एआई प्रोसेसर परीक्षणका लागि चिनियाँ प्रविधि कम्पनीहरूसँग सहकार्य थालेको छ।
हुवावेले आफ्नो एसेन्ड ९१० डी चिप एनभिडियाको एच-१०० चिपभन्दा शक्तिशाली हुने दाबी गरेको छ। यद्यपि, यसले एनभिडियाको पछिल्लो एच-२०० चिपलाई उछिन्ने वा नउछिन्ने भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन।
अमेरिका र चीनबीच एआई क्षेत्रमा चर्किंदो प्रतिस्पर्धाको बीचमा हुवावेको यो प्रयासले नयाँ मोड लिन सक्ने देखिएको छ।
सन् २०२२ मा तत्कालीन राष्ट्रपति जो बाइडेनले एनभिडियाको एच-१०० चिपमा प्रतिबन्ध लगाएका थिए। त्यसपछि एनभिडियाले चीनका लागि एच-८०० चिप विकास गर्यो, जुन सन् २०२३ मा पुनः प्रतिबन्धमा पर्यो।
प्रतिबन्ध अघि चिनियाँ कम्पनीहरूले ठूलो संख्यामा एच-१०० र एच-८०० चिप खरिद गरेका थिए।
यिनै चिपहरूको प्रयोग गरेर चिनियाँ स्टार्टअप ‘डिपसिक’ले शक्तिशाली एलएलएम आर-१ सार्वजनिक गरेको थियो, जसले अमेरिकी कम्पनी ओपनएआई र मेटाका मोडेलसँग प्रतिस्पर्धा गरेको थियो।
यदि हुवावेको नयाँ चिप दाबीअनुसार सफल भयो भने, चीनले एआई प्रविधिमा अमेरिकामाथि थप दबाब सिर्जना गर्ने देखिन्छ।








