काठमाडौं : दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङले आफ्नो नयाँ फ्ल्यागसिप स्मार्टफोन ‘ग्यालेक्सी एस–२५ एज’ भारतीय बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ।
कम्पनीले उक्त फोन आगामी साता सार्वजनिक गर्ने सम्भावना भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
सामसङले यो मोडललाई आफ्नो अहिलेसम्मकै सबैभन्दा पातलो डिजाइन भएको स्मार्टफोनका रूपमा प्रस्तुत गर्नेछ।
६.७ इञ्चको ठूलो डिस्प्ले रहेको यस फोनमा डुअल रियर क्यामरा सेटअप दिइएको छ, जसअन्तर्गत २०० मेगापिक्सलको मुख्य क्यामरा र १२ मेगापिक्सलको अल्ट्रावाइड क्यामरा रहनेछ। सेल्फीका लागि पनि १२ मेगापिक्सलको क्यामरा उपलब्ध गराइएको छ।
कम्पनीले फोनमा ३९०० एमएएच क्षमताको ब्याट्री र २५ वाट फास्ट चार्जिङ सपोर्ट उपलब्ध गराउने बताइएको छ।
सामसङको यो नयाँ मोडलले प्रतिद्वन्द्वी कम्पनी एप्पलको आउँदै गरेको ‘आइफोन–१७ एयर’ सँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।








